काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज देशभरका विश्वविद्यालय तथा स्वास्थ्यसम्बन्धी प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्दैछन्। बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
प्रधानमन्त्री स्वयं कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा विशेषगरी विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे विमर्श गरिनेछ।
विशेषगरी स्वास्थ्य शिक्षा र सेवा प्रवाहसँग सम्बन्धित विषयहरू बैठकको प्रमुख एजेन्डा हुने जनाइएको छ। चिकित्सा शिक्षा, जनशक्ति अभाव, पूर्वाधार विकास, तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन्। साथै नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन्।
त्यस्तै स्वास्थ्य तथा अनुसन्धान क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरू-नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनेछन्। कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले स्वास्थ्य सेवा सुधारका विषयमा विशेष छलफल गर्नेछन्।
सचिवालयका अनुसार, मुख्य बैठकअघि बिहान ११ बजे चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षामन्त्री तथा चिकित्सा शिक्षा सञ्चालन गर्ने विश्वविद्यालयका प्रतिनिधिहरूसँग छुट्टै बैठक बस्नेछ। त्यसपछि उपकुलपतिहरूसँगको संयुक्त छलफल सुरु हुनेछ।
बैठकमा स्वास्थ्य शिक्षा सुधार, दक्ष जनशक्ति उत्पादन, सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्ने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ। सरकारको ध्यान पछिल्लो समय स्वास्थ्य र शिक्षा दुवै क्षेत्र सुधारमा केन्द्रित भइरहेका बेला यस छलफललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।