काठमाडौँ। त्रिपुरेश्वरमा बसभित्र आगजनीपछि मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीका दोङको उपचारका क्रममा मंगलबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो।
सोमबार ट्राफिक प्रहरीसँगको विवादपछि दोङले आफैँले चलाएको बसमा आगजनी गरेका थिए। आगलागीमा परी गम्भीर घाइते भएका उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दोङले विभिन्न समयमा अन्य व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसअघि बालाजुमा भएको बस दुर्घटना र मूलपानीमा ट्राफिक प्रहरीसँगको विवादमा समेत उनले अरूको लाइसेन्स प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
यसैबीच, घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै मृतकका परिवार तथा समर्थकले प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा समेत सांसदहरूले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। साथै सार्वजनिक यातायातका चालक तथा यात्रुको सुरक्षा, प्रभावकारी ट्राफिक व्यवस्थापन र चालकलाई आवश्यक तालिम तथा परामर्शको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।