काठमाडौँ। आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोग निको पार्ने भन्दै भ्रामक विज्ञापन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
परिषद्ले क्यान्सर, पाइल्सलगायत जटिल रोग ‘शतप्रतिशत निको हुने’, ‘चट्टै निको हुने’ तथा ‘निको नभए पैसा फिर्ता’ जस्ता दाबी गरेर औषधिको प्रचार गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो।
यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भन्दै परिषद्ले कानुनविपरीतका विज्ञापन तथा प्रचारप्रसार १५ दिनभित्र बन्द गर्नरगराउन अनुरोध गरेको छ। निर्देशनको अवज्ञा गरी त्यस्ता गतिविधि जारी राखे कानुनबमोजिम कारबाही गरिने परिषद्ले जनाएको छ।