काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा तापक्रम तीव्र रूपमा बढ्दै गएको छ भने तराईका जिल्लामा तातो हावा (लु) चल्ने जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ, जसले अत्यधिक गर्मीको संकेत गरेको छ। लुम्बिनी र सुदूरपश्चिमका पश्चिमी तराई क्षेत्र, नेपालगञ्ज र धनगढी आसपास ‘लु’ को प्रभाव बढी देखिने सम्भावना छ।
मौसमविद्हरूका अनुसार बुधबारसम्म तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर जारी रहनेछ। जलवायु परिवर्तन, सहरीकरण र बढ्दो प्रदूषणका कारण यस्ता गर्मीजन्य घटना क्रमशः बढ्दै गएको अध्ययनहरूले देखाएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार ‘लु’ लाग्दा टाउको दुख्ने, चक्कर लाग्ने, श्वासप्रश्वासमा समस्या, रक्तचाप घट्ने तथा अचेत हुने जोखिम रहन्छ। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू विशेष जोखिममा रहने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ।
यसैबीच, अत्यधिक गर्मीले कृषि क्षेत्रमा पनि असर पार्ने देखिएको छ। विज्ञहरूका अनुसार बाली सुक्ने, फूल झर्ने तथा उत्पादन घट्ने जोखिम बढेको छ, जसले किसानलाई आर्थिक नोक्सानी पु¥याउन सक्छ। सरकार तथा सम्बन्धित निकायले दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का लुगा लगाउन, टाउको छोप्न र अत्यावश्यक काम बिहान वा बेलुका गर्न आग्रह गरेका छन्। साथै, ‘लु’ बाट बच्न जनचेतना र पूर्वतयारी आवश्यक रहेको जोड दिइएको छ।