बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा मृत्यु भएपछि बुटवलमा तनाव उत्पन्न भएको छ। घटनापछि आक्रोशित आफन्तले विभिन्न स्वास्थ्य संस्थामा तालाबन्दी गर्नुका साथै केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।
प्राप्त विवरणअनुसार करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि पाण्डे चैत २७ गते प्रारम्भिक जाँचका लागि बुटवलस्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। चिकित्सकले गर्भ असामान्य रहेको जनाउँदै फलोअपका लागि वैशाख ५ गते पुनः बोलाएका थिए। सोही दिन पुगेकी उनलाई त्यहाँबाट अन्यत्र जान सल्लाह दिँदै जोनल फार्मेसी क्लिनिकमा पठाइएको थियो।
जोनल फार्मेसीमा चिकित्सक उपलब्ध नभएको भन्दै उनलाई नजिकैको इन्दुलेखा क्लिनिक पठाइएको र त्यहीँ औषधिमार्फत गर्भपतन गराउने प्रयास गरिएको बताइएको छ। तर प्रक्रिया पछि उनको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
पीडित परिवारले एक क्लिनिकबाट अर्कोमा पठाउने, जिम्मेवारी नलिने र असुरक्षित तरिकाले औषधि प्रयोग गर्ने जस्ता गम्भीर लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। मृतक रेडक्रस सोसाइटीकी कर्मचारीसमेत रहेको र उनका श्रीमान् सरकारी सेवामा कार्यरत रहेको बताइएको छ। उनका पाँच वर्षका एक सन्तान छन्।
घटनापछि मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका छन्। जाहेरीमा डा। डीबी खत्री, डा। सतीश रुपाखेती, सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्रप्रसाद पाण्डेलाई आरोपित गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ भने अन्य आरोपित चिकित्सकलाई पक्राउ गर्ने प्रक्रिया जारी छ।
प्रहरीले शवको पोस्टमार्टम तथा बयानका आधारमा थप अनुसन्धान भइरहेको जनाएको छ। घटनापछि आफन्तले बुटवलस्थित खत्री मेडिकल हल, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दी गरेका थिए। प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिइएको मृतकका आफन्तले बताएका छन्। स्वास्थ्य क्षेत्रमा लापरबाहीबारे गम्भीर प्रश्न उठाएको यस घटनाले निजी क्लिनिकहरूको नियमन र अनुगमनमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।