बाँके। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लाखौँ नागरिकको उपचारको भरोसाको केन्द्र बनेको भेरी अस्पताल नेपालगन्जको १३६औँ वार्षिकोत्सवका अवसरमा अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।
वार्षिकोत्सव समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले भेरी अस्पताल पश्चिम नेपालका नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य संस्था भएकाले यसको विकासलाई साझा एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताउए। उनले अस्पतालको दीर्घकालीन विकासका लागि सबै सांसद र सरोकारवाला निकायले एकजुट भएर पहल गर्नुपर्ने धारणा राखे।
यस्तै, प्रतिनिधिसभा सदस्य केपी खनालले पश्चिम नेपालका सरकारी अस्पतालको सेवा र पूर्वाधार सुदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले भेरी अस्पताल परिसरमा ५० शय्याको ‘समता भवन’ निर्माण गरिने घोषणा गरे। उनका अनुसार चालु आर्थिक वर्षमै निर्माण प्रक्रिया सुरु गरिने उक्त भवनले विशेषगरी आमा तथा शिशु स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। नवीन दर्नालले भेरी अस्पतालले १३६ वर्षको यात्रामा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै आगामी दिनमा विशेषज्ञ सेवा, पूर्वाधार विस्तार र प्रविधिमैत्री स्वास्थ्य सेवामा जोड दिइने जानकारी दिए।
समता भवन निर्माणसँगै मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ। यसले पश्चिम नेपालका गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुलाई थप सहज र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।