काठमाडौं । मेसिनमा परी दुई टुक्रा भएको हातको राष्ट्रिय ट्रमा सेन्टरले सफलतापूर्वक शल्यक्रिया गरेको छ । करिब १५ घन्टाको शल्यक्रिया पश्चात् उक्त हात सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आइतबार पत्रकार सम्मेलन मार्फत् उक्त जानकारी दिएको हो ।
गत फागुन ९ गते साँझ ५ बजे धनुषाको जाठी गाउँपालिका वडा नं ८ का ५ वर्षिया बालक कुलदीप मण्डलको मेसिनमा हात पसेर दुई टुक्रा भएको हातको ट्रमा सेन्टरका प्लाष्टिक सर्जरीका प्रमुख प्रोफेसर डा. पियुष दाहालको नेतृत्वमा सफल उपचार भएको हो ।
उपचार टोलीमा डा.महेश देवकोटा,पशुपति बाबु पोखरेल, डा.अपार लामिछाने तथा एनेस्थेसियाका डा. रुपेश यादव लगायतका चिकित्सकहरुको संलग्नता रहेको थियो । १५ घन्टा लगाएर गरिएको उक्त शल्यक्रियाका क्रममा विभिन्न २५ वटा संरचनाहरु जोड्न परेको डा. पशुपति बाबु पोखरेलले बताए । औलाहरु टुक्रिएको अवस्थाका शल्यक्रिया ट्रमा सेन्टरमा पटक पटक गरिए पनि यस्तो प्रकारको जटिल शल्यक्रिया भने पहिलो पटक गरिएको पत्रकार सम्मेलनमा उनले बताए ।
घटना भएको करिब ६ घन्टामा नै बिरामी अस्पताल आइपुगेको तथा जनकपुर प्रादेशिक अस्पतालले प्राथमिक उपचार सही रुपमा गरिदिएकोले उक्त शल्यक्रिया सम्पन्न गर्न सजिलो भएको पत्रकार सम्मेलन ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ड प्रमोद जोशीले बताए । उनले ५ वर्षको बच्चालाई १५ घन्टासम्म बेहोस बनाएर गरिएको यो शल्यक्रिया निकै नै जटिल प्रकारको भएको भन्दै उपचारमा संलग्न सम्पूर्णलाई धन्यवाद समेत दिए ।