काठमाडौं । नेपाल औषधि लिमिटेडले हेमोडाइलासिस लगायत तीन सेवा विस्तार गर्ने भएको छ । लिमिटेडले हेमोडाइलासिस, पानी प्रशोधन तथा वितरण र सूक्ष्म जैविक शाखाको सेवा थप गरेको हो।
तीन वटै सेवाको नेपाल सरकारका उद्योग वाणिज्य आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बुधबार उद्घाटन गरेका हुन्। लिमिटेडले हेमोडायलासिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने डायलासेट उत्पादन गर्नेछ।
दैनिक ८ सय युनिटदेखि आवश्यकता अनुसार १६०० युनिटसम्म डायलासेट उत्पादन गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले जानकारी दिएका छन्। हेमोडायलासिसको उपचार लिनुपर्ने बिरामीले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै हेमोडायलासिसको निशुल्क उपचारमा थप सहयोग पुग्ने लिमिटेडको विश्वास छ।
यस्तै, गुणस्तरीय औषधि उत्पादनका लागि पानी प्रशोधन तथा वितरण प्रणालीको पनि लिमिटेडले सुरुवात गरेको छ। विगतमा उक्त प्रणाली नहुँदा लिमिटेडले कुशल उत्पादन अभ्यासको प्रमाण पत्र पाउन नसक्दा औषधि उत्पादन समेत प्रभावित भएको थियो।
पानी प्रशोधन तथा वितरण प्रणाली मार्फत प्रतिघण्टा अधिकतम एक हजार लिटर शुद्द पानी औषधिजन्य प्रयोजनका लागि उपलब्ध हुनेछ। युनाइटेड स्टेट फार्माकोपियाको मापदण्ड अनुरुप उत्पादित र वितरित शुद्ध पानीले लिमिटेडबाट उत्पादन हुने हेमोडायलासिस र अन्य औषधिहरुको गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने सफिउल्लाहले बताए।