काठमाडौं । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ।
मंगलबार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो।
२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ। लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मान मर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ।
मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए।