काठमाडौं । आज मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैँलक्षित बजार अनुगमन गरेको हो ।
उपमेयर डंगोलको टिमले टुकुचास्थित रहेका तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेका छन् ।
उक्त टोलीले महानगरभित्र रहेको भित्री पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे–नगरेको, सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताएकी थिन् । डंगोलले कतिपयलाई दर्ता गराउने कुराहरू नै थाहा नभएको र उनीहरूलाई सचेत गराइएको बताइन्।
उपमेयर डंगोलले बेच्ने मात्र नभई किन्ने मानिसमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइनुका साथै अनुगमनको क्रमलाई दसैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले जानेर बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइन्।
अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन्।
उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको थापाले बताइन्। उनले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाइन्।