काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले तत्कालको समयमा औषधिको मूल्य समायोजन नहुने संकेत गरेका छन्। उनले बजारमा सिटामोल लगायत केही औषधिको अभाव भएको भन्दै यसलाई सहज बनाउन समेत औषधि उत्पादक तथा व्यवसायीहरूलाई सुझाए ।
नेपाल औषधि उत्पादक संघ ( एपोन ) को २८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खापुङले मूल्य समायोजन गर्नु पर्ने व्यवसायीको मागलाई गलत नभने पनि माग सम्बोधन गर्ने उचित समय नभएको बताए ।
‘देशमा डेँगुको महामारी फैलिएको छ । यस्तो बेलामा औषधिको मूल्य बढाउनु पर्छ भन्ने मानवीय हिसाबले पनि मिल्दैन् । तपाँईहरुका माग जायज भएपनि यो बेलामा सम्बोधन हुन अलि कठिन देख्छु म,’ उनले भने ।
मन्त्री खापुङले प्रकोप फैलिएको बेलामा औषधि अभाव हुन नदिनु उत्पादक तथा व्यवसायीहरूको धर्म हो भन्दै यस तर्फ ध्यान दिन आग्रह गरे।