काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईका अनुसार कर्मचारीको बिदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर सङ्कलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
‘स्थानीयहरुले अष्टमीदेखि एकादशीसम्मका चार दिन ल्याण्डफिल साइट बन्द गर्न अनुरोध गरेका छन । यसैअनुसार आज हामीले सहरको फोहोर सङ्कलन गरेका छौँ तर साइटमा पठाएका छैनौँ । दशैँमा कर्मचारीहरुलाई पनि आलोपालो खटाउनुपर्ने हुन्छ । त्यसैले निश्चित जनशक्ति परिचालन गरेर सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्छौँ ।’ विभागका प्रमुख राईले भने , ‘सफाइकर्मीलाई पर्व मनाउने अवसर उपलब्ध गराउन महानगरवासीको पनि योगदान रहन्छ । यसका लागि हामी अनुरोध गर्न चाहन्छौँ, कम फोहोर उत्पादन गर्नु , उत्पादित फोहोरलाई वर्गीकरण गरेर राख्नोस्, सफाइकर्मी नआउञ्जेल घरबाहिर फोहोर ननिकाल्नु ।’
विभागले दशैँका लागि सडक, मठमन्दिर, चोकलगायत सार्वजनिक स्थलहरुको विशेष सरसफाइ गरिरहेको छ । सरसफाइका लागि आज पनि कर्मचारीहरु बढार्ने, झार उखेल्ने तथा गोडमेल गर्ने, पानी तथा चुन छर्किने काम भइरहेको छ । वडाहरुको ८ वटा समूहमा विभाजन गरेर त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनी तथा सङ्घ संस्थालाई सहभागी गराएर सरसफाइ चलाइएको हो ।