काठमाडौं । जाडोयाम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन्। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दसैँ सुरु हुनुअघिको तुलनामा अहिले डेंगुका बिरामी कम हुँदै गएका हुन्।
जाडो सुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरू पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।
उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत हुनुहुन्छ भने एकजना आइसियूमा उपचाररत छन्। त्यस्तै, इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए।
सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरू भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए। उनले दसैँको वेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरू कम भएको बताए।
सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घरवरपर पानी जम्न नदिने, घरवरपर सफा राख्ने गरेमा डेंगुबाट बच्न सक्ने बताए।
उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे। सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरू भने बढिरहेको बताए।