काठमाडौं । चिकित्सकले दाताबाट मृगौला झिकिसकेपछि प्रत्यारोपणका लागि अयोग्य भएको बताएपछि वीर अस्पतालमा तनाव सृजना भएको छ । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो ।
मिर्गौला प्रत्यारोपणको तयारी सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले गरेका थिए । प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको भएपनि प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो नदेखिएकोले प्रत्यारोपणको कार्य गर्न नसकिएको अस्पतालका अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेत बताए ।
अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा। प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । वीरको युरोलोजी विभागका प्रमुख डा. रविन बस्नेत मिर्गौला प्रत्यारोपणका क्रममा कहिलेकाही यस्ता समस्या हुनु प्राविधिक कुरा भएको बताउँछन् । तर, शल्यचिकित्सकले यस्ता प्राविधिक समस्याका कुरालाई च्यानलअनुसार कम्युनिकेसन नगर्नु कमजोरी रहेको बताउँछन् ।