धुम्बाराहीस्थित ह्याम्स अस्पतालले निसन्तान दम्पत्तीलाई लक्षित गर्दै आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले (स्टेट अफ द आर्ट)आइभिएफ सेन्टरको उद्घाटन गरेका छन्। ह्याम्स आईभिएफ सेन्टरमा प्रजनन् विशेषज्ञ डा भोला रिजाल तथा प्राडापदमराज पन्तद्वारा सेवा प्रदान गरिने छ।

सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ४ बर्ष देखि धुम्वाराहीमा अवस्थित अत्याधुनिक भवन तथा भौतिक पूर्वाधारका साथ संचालनमा रहेको छ । यस अस्पतालमा चिकित्सा विधाका सम्पूर्ण विभागहरु रहेका छन् ।

अत्याधुनिक उपकरण तथा उपचार पद्धतिद्वारा अनुभवी तथा दक्ष चिकित्सकहरुले स्वदेशमा नै विशिष्ट स्वास्थ्य सेवा सर्वसुलभ तथा सरल ढंगले उपलव्ध गराउँदै आएकोमा थप सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले बताए। उनले आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पतालले लिएको छ। 