एजेन्सी । नेपालमा प्रदूषित हावा फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । भारतको पञ्जाब र हरियाणा राज्यमा एक हप्तादेखि पराल डढाउने कार्य भइरहेकाले हावा प्रदूषित भइरहेको र त्यही प्रदूषित हावा नेपाल भित्रन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाव समेत दिएका हुन् ।
प्रदूषित हावा केही दिनमा नेपाल भित्रन सक्ने र यस्तो प्रदूषित हावाले स्वास्थ्यमा असर पार्न सक्ने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले बताए।
नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ। यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरू बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ।
काठमाण्डौ उपत्यका कचौरा आकारको भएकाले यहाँ हप्तौसम्म पनि प्रदूषित हावा फैलने गरेको छ भने तराईका भूभागमा पराल डढाउने, डढेलो, फोहोर जलाउने लगायतका कारणले पनि हावा प्रदूषित हुने गरेको छ।
प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरू बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा काठमाण्डौसहित देशभर प्रदूषण बढेको थियो।