काठमाडौं । बालबालिकामा कानको संक्रमणको जोखिम बढी हुन्छ । साना बालबालिकामा नुहाउँदा र दूध खुवाउने सही आसन नमिल्दा कान पाक्ने जोखिम हुन्छ ।
चिकित्सकहरुका अनुसार कानको संक्रमण धेरै देखिने मध्येको एक समस्या हो । बढी रुघा लाग्ने भएकाले उनीहरूमा कान पाक्ने समस्या धेरै देखिन्छ । किनकि नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । जसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ । बच्चाहरूलाई रुघा लागेपछि त्यही पाइप हुँदै कानमा संक्रमण हुने चिकित्सकहरु बताउँछन् ।साथै बालबालिकालाई सुताएर दूध खुवाउँदा पनि कानको संक्रमण हुने जोखिम हुन्छ । सुताएर दूध खुवाउँदा नाक र कानको नली सिधा हुन्छ र दूध माथिल्लो घाँटीको भाग हुँदै कानमा गएर संक्रमण हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
माथिका दुई कारणले मात्र नभई बालबालिकाको कानमा अन्य कारणले पनि संक्रमण हुनसक्छ । जन्मजात नै कानको संक्रमण हुन सक्छ । बच्चा जन्मिएपछि कानमा तेल हालिदिने, कान सफा गर्न भन्दै कोट्याइदिने, धेरै रुघा लाग्ने र नाक टाल्लिने समस्या भएका बच्चामा कान पाक्ने समस्या हुन सक्ने चिकित्सकको भनाई छ ।
जोगाउने कसरी ?
बालबालिकामा कानको संक्रमण तथा कान पाक्ने समस्या छ भने कान जथाभावी कोट्याउनु हुँदैन ।
कानमा तेल वा अन्य तरल पदार्थ पनि हाल्न हुँदैन ।
बच्चामा बेलाबेलामा रुघाखोकी लागि रहन्छ भने सतर्कता अपनाउनुपर्छ ।
आमाले बच्चालाई सुताएर स्तनपान नगराउने, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिनुपर्छ ।