काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले हरेक बर्षजस्तै यस बर्ष पनि अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाएको छ ।
“स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ” भन्ने नारालाई आम जनमानसमा लैजान हस्पिटलले महिना भर स्तन क्यान्सरसम्बन्धी उपचारमा बिशेष छुट समेत दिएको थियो ।
स्तन क्यान्सर विशेषज्ञ एबम अङ्कोप्लाष्टिक सर्जन डा प्रफुल्ल शाक्यले क्यान्सरको लक्षण थाहा नहुँदा र सामान्य परीक्षण समेत नगर्दा नेपाली महिलाहरु अन्तिम स्टेजमा परामर्शमा आउने गरेको बताए ।
‘विकसित देशमा स्तन क्यान्सर ५० बर्षको हाराहारीमा देखिन्छ तर नेपालमा आधा भन्दा बढी क्यान्सर ४० बर्ष नपुग्दै देखिएको छ । त्यस्तै विकसित देशमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा नै थाह हुने गरेको छ तर हामी कहाँ अन्तिम स्टेजमा मात्रै अस्पतालमा आएको पाइन्छ । यसले रोग निको हुने दरमा समस्या थपेको छ,’ डा शाक्य भन्छन् ।
उक्त कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर ब्रिजेश राज घिमिरेले स्तन क्यान्सरबारे आफ्नो धारणा राखेका थिए ।