एजेन्सी । सुत्नुभन्दा अगाडि सङ्गीत सुन्नाले निद्रामा समस्या देखिने अध्ययनले देखाएको छ ।
धेरै मानिसहरू सुत्नुअगाडि सङ्गीत सुन्ने वा आफ्नो मनपर्ने गीत बजाएर सुत्ने गर्छन् । तर, टेक्सासका विज्ञहरूले सुत्नुभन्दा अगाडि सङ्गीत सुन्नाले लगातार ‘इयरवर्म्स’ अर्थात् दिमागमा उक्त गीतहरू बजिरहनुका साथै निद्रामा पनि समस्या हुने पत्ता लगाएका छन् ।
इयरवर्म्स ब्युँझिरहेको अवस्थामा धेरै हुनसक्छ तर, अनुसन्धानले देखाएअनुसार निदाउन कोसिस गरिरहेको बेलामा पनि लगातार दिमागमा गीत बजिरहन सक्छ ।
रातमा नियमित रूपमा (हप्तामा एक वा सोभन्दा बढी पटक) इयरवर्म्स अनुभव गर्ने मानिसमा छ गुणा बढी निद्रामा समस्या हुने वा उनीहरूको निद्राको गुणस्तर खराब हुने अध्ययनले देखाएको हो । बायलर युनिभर्सिटीका मनोविज्ञान र न्यूरोसाइन्सका सहयोगी प्राध्यापक माइकल स्कुलिनको नेतृत्वमा अध्ययन गरिएको थियो ।
दिमागमा गीत बजेका कारण उनी आफैंँ मध्यरातमा ब्युँझेका थिए । प्रायः सबैले सङ्गीतले निद्रामा सुधार ल्याउँछ भन्ने सोच्छन् । तर, धेरै सङ्गीत सुन्नेमा निद्राको समस्या बढी हुने देखाएकाे हाे । साइकोलोजिकल साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनमा दुई सयभन्दा बढी सहभागी थिए ।
उनीहरूको निद्राको गुणस्तर, सङ्गीत सुन्ने बानी, कहिले र कति पटक इयरवर्म्सको अनुभवको विषयमा सर्वेक्षण गरिएको थियो ।