काठमाडौं । रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
विराटनगर–६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका हुन । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताए।
आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उनले बताए । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने उल्लेख गरे ।
आज बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताए।
यसअघि विराटनगर वडा नम्बर १ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको महतोले जानकारी दिए।शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो।