काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त पार्टीले स्वास्थ्य क्षेत्रका विषयलाई जोडदार रुपमा प्रस्तुत गरेको छ ।
घोषणा पत्र सार्वजनिक गर्दै एकल भुक्तानी प्रणाली लागू गरी नागरिकको स्वास्थ्य खर्चको एक मात्र भुक्तानीकर्ता बनाइने, प्रत्येक प्रदेशमा अत्याधुनिक प्रयोगशाला र ७५० शय्याको विशिष्ट विज्ञसहितको अन्तर्राष्ट्रियस्तरको अस्पताल, जिल्लामा इन्टरनल मेडिसिन, प्रसूति तथा स्त्री रोग, एनेस्थेसिया, फिजिसियन, बालरोग, हाडजोनी, सामान्य शल्य चिकित्सा र मानसिक रोगको विज्ञ चिकित्सकसहित ५० देखि १०० शय्याको अस्पताल, प्रत्येक पालिकामा न्यूनतम एक चिकित्सकसहित ६ देखि २५ शय्याको आधारभूत अस्पताल र प्रत्येक वडामा औषधालयसहितको सामुदायिक क्लिनिक स्थापना तथा स्तरोन्नति गरिने जस्ता विषयलाई उल्लेख गरेको छ ।
घोषणा पत्रमा समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने उल्लेख छ । यस्तै २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई समुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइने स्वतन्त्र पार्टीको वाचा छ । विस २११० सम्म सम्पूर्ण नेपालीहरू पूर्ण बिमाको दायरामा हुने तथा मुलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने पार्टीको दाबी छ ।