काठमाडौं । कुमारी आमा निहारिका राजपूतले बलात्कार आरोपितसँग श्रीमान् श्रीमतीको नाता प्रमाणित नगर्ने अडान लिएकी छन् ।
लामो संघर्षपश्चात् न्यायको सास फेर्न पाएको बताउँदै उनले छोरालाई आफ्नै नाम दिने बताएकी छन् । आफूले श्रीमान् श्रीमतीको नाता प्रमाणित गर्नका लागि संघर्ष नगरेको उनको दाबी छ । निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् ।
तर, अदालतले बलात्कार नभएको निस्कर्ष निकाल्दै शिवराजलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन् ।
उनले बलात्कारबाट नै आफ्नो छोराको जन्म भएको बताउँदै आएकी थिईन् । बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको विधि विज्ञान प्रयोगशाला काठमाडौंले जनाएको छ ।