काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार घोषणा पत्र सार्वजनिक गर्दै लोसपाले नागरिकको स्वास्थ्यलाई प्राथमिकता राखेको छ ।
लोसपाको घोषणा पत्रमा समेटिएका स्वास्थ्यका विषय निम्नानुसार छन्-
देशको नागरिक स्वस्थ रहे मात्र देश स्वस्थ रहनेछ। स्वस्थ नागरिक देशको मेरुदण्ड हो। तसर्थ, स्वास्थ्य सेवालाई देशको संविधानमा मौलिक अधिकारमा राखेको छ। सम्पूर्ण नागरिकको पहुँचमा स्वास्थ्य सेवा हुनु पर्दछ।
सुलभ, र गुणस्तरीय स्वास्थ्य सेवाहरुबाट कुनै पनि नागरिक बंचित हुनु हुँदैन। स्वास्थ्य पूर्वाधारको विकास गर्दै हरेक पालिकामा उच्च स्तरीय विशिष्ट सेवा प्रदायक अस्पतालको सञ्चालन लोसपा नेपालको प्रतिबद्धता हो। सम्पूर्ण नागरिकको स्वास्थ्य बिमा गराउनु आजको आवश्यकता हो। स्वास्थ्य सेवा बिस्तार गर्ने कुरा एकातिर छ भने नागरिक बिरामी नै नहोस् भन्ने अवधारणा अनुरूप खानेपानी, प्रदुषण मुक्त बसोबास, उचित खानपीन, ब्यायाम, योगा र आनन्दित जीवन यापन गर्नलाई समेत उचित वातावरण निर्माण गर्ने कार्य राज्यको दायित्व हो।