काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बिरामीको संख्या ३३ हजारभन्दा बढी पुगेको छ ।
यो संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ । काठमाडौँमा १३ हजार २ सय जनामा डेंगु संक्रमण भएका छन् भने रसुवामा ८ जनामा रोग पुष्टि भएको हो ।
यसैगरी ललितपुरमा नौ हजार २ सय, मकवानपुरमा ४ हजार ६ सय ६९, भक्तपुरमा ३ हजार ६०, चितवनमा १ हजार ८ सय ५०, धादिङमा ८ सय ६०, काभे्रपलाञ्चोकमा ४ सय ८०, रामेछापमा १ सय ६८, सिन्धुपाल्चोकमा १ सय ६५, नुवाकोटमा १ सय ६८, सिन्धुलीमा १ सय ३३ र दोलखामा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ । यसैगरी बागमती प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।