काठमाडौं । सामाजिक सेवा क्षेत्रमा कार्यरत रहँदै आर्थिक स्रोत जुटाउन युवा नेत्र सेवाले ‘एक कप चिया’ दान सञ्चालन गर्दै आएको छ ।
यसै अनुसार ‘एक कप चिया’ अभियानबाट उठेको चन्दाबाट शनिबार ४३ जनालाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरेको छ । २६औँ निःशुल्क आँखा शिविर कीर्तिपुर नगरमडप श्री कीर्ति विहारमा देशका विभिन्न, जर्सिहपौवा, कात्तिके, देउपुर, बलम्बु, धर्मस्थली, कीर्तिपुर र काठमाडौंबाट आएका मोतिविन्दु बिरामीहरूलाई शल्यक्रिया गरेका थिए ।
यस कार्यक्रमका प्रमुखअतिथि मित्रराष्ट्र जापान राजदूतावासका प्रतिनिधि डा. नाओको शिगाको उपस्थिति रहेको थियो । मोतिविन्दुका बिरामीहरू निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा युवा नेत्र सेवाका सचिव रोशन महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सेवाकी कोषाध्यक्ष शर्मिला डंगोलले वार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन् । यस्तै कार्यक्रममा प्रमुख अतिथिलाई युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रंजितले मायाको चिनो प्रदान गरेको थियो भने कार्यक्रम अध्यक्ष रंजितको अध्यक्षतामा सम्पन्न भएको छ ।