काठमाडौं । गत वर्षामा बाढी र पहिरोको कारण धनजनको क्षति बेहोरेको सुदूरपश्चिमले हिउँद लाग्दा नलाग्दै भूकम्पबाट पनि धनजनको क्षति खेप्नुपरेको छ । डोटीमा भूकम्पका कारण धनजनको क्षति भएको छ । जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्युटको भूकम्पले धनजनको क्षति पु¥याएको हो ।
भूकम्पका कारण घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ ठाडागाउँकी भगवतीदेवी बोहरा, निजकी १४ वर्षीया छोरी सीता बोहरा र निजकै आठ वर्षीय छोरा हर्क बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए ।
त्यसैगरी भूकम्पमा परी सोही ठाउँका ५० वर्षीय प्रेम बोहरा, निजकी छोरी तुलसी बोहरा र निजको घरमा बास बस्न आएकी धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भूकम्पमा परी सोही गाउँका आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते दुई जना ४५ वर्षीया बिष्नादेवी बोहरा र ४६ वर्षीया चनादेवी बोहराको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरी घाइते चार जना ५० वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा र १५ वर्षीया भगुकुमारी बोहराको जिल्ला स्वास्थ्य कार्यालय डोटीमा उपचारपश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । त्यस्तै सामान्य घाइते दुई जना ४२ वर्षीय केशरसिं बोहरा र जगुदेवी बोहराको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएको जनाइएको छ ।