काठमाडौं । काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।
नेपालसहित अमेरिका, बंगलादेश, जापान, भारत, स्लोभानियालगायत १५ मुलुकका विज्ञहरूसमेत सहभागी रहेको यो सम्मेलनको नारा ‘विकासोन्मुख मुलकहरूका लागि मृत्युपर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने नारासहित सम्पन्न भएको हो ।
सम्मेलनमा जिल्ला अस्पताल र नर्सिङ प्रमुखसहित तीन सय नेपाली विज्ञहरूको पनि सम्मेलनमा सहभागिता रहेको थियो ।
शनिबार उद्घाटन गरिएको उक्त सम्मेलन आइतबार सकिएको हो । सम्मेलनको उद्धघाटन समारोहमा भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले नेपालमा मानव अंग प्रत्यारोपणको दिगोपनका लागि भइरहेको प्रगतिबारे जानकारी प्रस्तुतीकरण गरेका थिए ।उनले हालसम्मको प्रगति, चुनौती र देखिएका जटिलताबारे सम्मेलनमा जानकारी समेत गराएका थिए।