काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पराजय भोगेका छन् । महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीसँग पराजित भएका छन्।
पोखरेलले २२ हजार ३७३ मत ल्याए। विजयी भएका एमालेका उम्मेदवार महतोले २३ हजार ४०२ मत ल्याए। एमालेका महतोले १ हजार ३० मतको अन्तरले पोखरेललाई पराजित गरे।
महोत्तरी १ बाट जितको ह्याट्रिक गरिसकेका पोखरेल माओवादीबाट सरकारमा सहभागी हुने नेतामध्ये सबैभन्दा अगाडि पर्छन्। उनी संविधान सभाको निर्वाचन २०६४ र २०७० तथा प्रतिनिधि सभाको निर्वाचन २०७४ मा विजयी भएका थिए।
उनी २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री तथा २०७४ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए।