काठमाडौं । नेपाल टेलिकमले आजबाट निःशुल्क ई-सिम निरन्तरता दिदैं आएको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन्।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ। आजबाट टेलिकमको सुन्धारा कार्यालयबाट वितरण हुँदैछ।
नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सिम उपलब्ध गराइने छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले यो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।
हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने छन्।