काठमाडौं । अफ्रिकामा बढी रहेको आत्महत्या रोक्न विश्व स्वास्थ्य सङ्गठनले चेतनामूलक अभियान सुरु गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।
अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन्। यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो । विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा ९ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ।
यहाँ मानसिक रोग भएका नागरिकहरुको संख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरुको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो।
अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ। सन् १९९० मा मानसिक रोग भएका मानिसहरुको संख्या ५ करोड ३० लाख मात्र रहेकामा अहिले यो सङ्ख्या बढेको हो। मानिसहरुको उपचार तथा उनीहरुका समस्याहरुको सहजीकरण गरिने भएको छ।