काठमाडौं । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालिन अस्पताल सञ्चालन गरिने भएको छ ।
विश्वविद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् ।
कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए ।
‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, यसमा कुनै इन्तु किन्तु परन्तु केही चल्दैन,’ सांसद शर्माले भने, ‘अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेरो तर्फबाट सबै सहयोग गर्छु, कुनैपनि हालतमा अस्पताल चलाउँनैपर्छ ।’
सांसद शर्माले अस्पताल सञ्चालनका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।