काठमाडौँ । चिकित्सा शिक्षा आयोगका सदस्य-सचिवलाई सहयोग गरेको भन्दै उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीले १३ जना कर्मचारीलाई एक महिनादेखि जगेडामा राखेका छन् । उपसचिवसहित विभिन्न शाखाका कर्मचारीलाई आयोगका उपाध्यक्ष प्रा.डा गिरीको निर्देशनमा जिम्मेवारीविहीन बनाइएको हो।
जिम्मेवारी विहिन बनाइएपछि आयोगका उपसचिव सीताराम कोइरालासहितका कर्मचारी एक महिनादेखि कार्यालय जाने र हाजिर गरेर दिनभर खाली बस्ने गरेका छन्।
शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य-सचिवलाई सहयोग गरेको भन्दै ती कर्मचारीहरूलाई जिम्मेवारीविहीन बनाइएको हो। उपाध्यक्ष प्राडा गिरीको निर्देशनमा ती कर्मचारीलाई काम गर्न नदिई जगेडामा राखिँदा आयोगको काम कारबाही प्रभावित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २० भदौमा शिव कुमार सापकोटालाई सदस्य–सचिवको रूपमा आयोगमा सरूवा गरेको थियो । पुराना सदस्य–सचिव डा.भोजराज काफ्लेको सरूवा गर्दै सापकोटालाई पठाउने मन्त्रीस्तरीय निर्णय भएको थियो।