काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन्।
उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्न गाह्रो भएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । सो क्षेत्रको न्यूनतम् तापक्रम माइनसमा झरेको छ । ‘हिउँदमा प्रहरीलाई सो क्षेत्रमा बस्न कठिन हुन्छ, रासनपानीको पनि समस्या हुन्छ’, उनले भने, ‘वर्षेनि मङ्सिरपछि प्रहरी चौकी सदरमुकाम सार्ने गरेका छौँ।’
प्रहरी सदरमुकाम झरेपछि चौकी रहेको भवनमा ताला लगाउने गरिन्छ । बर्सेनि जेठ लागेपछि सुरक्षाकर्मी पुनः सोही चौकीमा फिर्ता जाने गरेका छन् । हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत थिए । गत वर्ष हिल्सा प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीलाई नाम्खा–५ स्थित मुचु प्रहरी चौकीमा सार्ने गरिएको मल्लले बताए ।