मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन्। विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन गर्दै उनले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय एवं सर्वसुलभ हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘स्वास्थ्य नै धन हो भन्ने प्रचलन छ र त्यसमा पनि आँखा सबैभन्दा महत्वपूर्ण अंग भएकाले यसको उचित हेरचाह गर्नुपर्छ।’
निजी क्षेत्रले जनताको स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे। प्रमुख खापुङले निजी क्षेत्रबाट स्थापित यस अस्पतालको सफलताबाट मुलुकको स्वास्थ्य र आर्थिकलगायत क्षेत्रमा ठूलो योगदान पुग्ने बताए।
प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले उपचारका लागि आउने भारतीय बिरामीले साथमा ल्याउने भारतीय रकमले मुलुकको व्यापार घाटामा केही सघाउ पुग्ने विश्वास व्यक्त गरे।
अस्पतालका अध्यक्ष कादिर अन्सारी, नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डल, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मी, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल र सञ्चालक समिति सदस्य तेजलाल कर्णले स्वास्थ्य र शिक्षा क्षेत्रको केन्द्रका रूपमा विस्तार भइरहेको यस क्षेत्रमा सरकारलाई विशेष सहुलियत प्रदान गर्न आग्रह गरे।