काठमाडौं । प्रदेश १ मै पहिलो पटक नोबेल शिक्षण अस्पतालमा ढाडको नसा च्यापिएको विना चिरफार ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरिएको छ।
सामान्यतया नसा च्यापिएका बिरामीहरुको ढाड चिरेर शल्यक्रिया गर्ने गरिएकोमा प्रदेश १ मै पहिलो पटक नोबेलका चिकित्सकहरुले ल्याप्रोस्कोपी अर्थात दुरविनको सहायतामा स–साना प्वाल बनाएर नसा च्यापिएको ढाडको सफल शल्यक्रिया गरेका हुन्।
सोमबार नोबलका डा. प्रकाश काफ्लेको नेतृत्वमा डा. एडमन्ड जोनाथन, डा. प्रमोद चौधरीको टोलीले झापा कमल गाउँपालिका २ की २८ वर्षीय बिमला कार्कीको मिनिमली इनभेसिभ स्पाइन सर्जरी गरेका हुन् । ‘सामान्यतया ढाड भाँच्चिएको, नसा च्यापिएको शल्यक्रिया गर्दा ढाड चिर्नुपर्दथ्यो ।
यसबाट शल्यक्रिया गर्दा बढी रगत जाने, शल्यक्रिया पश्चात लामो समय अस्पताल बस्नुपर्ने तथा शल्यक्रिया गरेको घाउसमेत निको हुन लामो समय लाग्ने गर्दथ्यो।’ डा. काफ्लेले ल्याप्रोस्कोपी प्रविधिबाट स–साना प्वाल बनाएरै नसा तथा ढाडको शल्यक्रिया गर्दा बिरामी चाँडो निको हुने तथा अस्पतालमा धेरैदिन बस्नुपर्ने बाध्यता हटेको जनाउँदै भने–‘यो प्रविधिले बिरामीलाई धेरै राहत पुगेको छ, रगत धेरै जाँदैन । लामो समय ओछ्यानमा बसेर रेष्ट गर्नु पर्दैन।’