काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा चिसो बढेको छ। आज बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ ।
हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम खराब भएको मौसमविद्हरूले बताएका छन्।
उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरू अवरुद्ध भएका छन् । उडानहरू अवरुद्ध बन्दा यात्रा गर्नेहरूलाई भने असहज भएको छ।हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ।
अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ।
आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।