बैतडी । बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ। वडा नम्बर १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए। त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरे। उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन्।
बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो। झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन्। वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन्।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि वडा नं ७ का घाइतेमात्रै पुगेका बताइएको छ। वडा नं १ तर्फका १० जना घाइते भएको स्थानीय विजयसिंह नायकले बताए।
अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकिन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीसहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ।