काठमाडौं । कोरोना महामारी पून फैलिने जोखिम बढेपछि विराटनगर महानगरपालिकाले पूर्व तयारीसहित सतर्कता अपनाउन सुरु गरेको छ ।
विभिन्न मुलुकमा कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित जोखिमबाट बच्नका लागि पूर्व तयारी सुरु गरेको हो ।कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ ।
महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले रानी नाकास्थित हेल्थ डेक्सको अनुगमन गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए । सम्भावित कोभिडको संक्रमणविरुद्ध लड्न महानगरको स्वास्थ्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न मेयर नागेश कोइरालले निर्देशन दिइसकेका छन्।
महाशाखा प्रमुख अलिका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ।