काठमाडौं । आज प्रदेश–१ का केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुका केही स्थानमा हिमपातको सम्भावना रहेको हो।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण प्रदेश–१ सहित मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली रहनेछ । त्यस्तै, बिहानीपख हुस्सु/कुहिरोका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने महाशाखाको भनाइ छ।
काठमाडौंको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ । मंगलबार ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।