काठमाडौं । नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोई ?’ अभियानलाई तीव्रता दिन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै त्यसको असर नेपालमा पनि देखिन सक्ने भन्दै प्रहरीले उक्त अभियानको पुन सुरुवात गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोई' अभियान सुरु गरेको हो।
मङ्गलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो। ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए।
कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।