काठमाडौं । कृषि विकास बैंकले नवनियुक्त अधिकृतहरुलाई पूर्व सेवाकालीन तालिमको आयोजना गरेको छ । बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा आयोजित उक्त तालिम कार्यक्रममा नवनियुक्त छैटौं तहदेखि नवौं तहसम्मका विभिन्न ७० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मङ्सिर २७ देखि पुस ११ सम्म जम्मा १४ दिनसम्म चलेको उक्त तालिम कार्यक्रमको समापनमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीले नवनियुक्त कर्मचारीहरुलाई कृषि विकास बैंक लि.मा स्वागत गर्दै तालिममा सिकेका कुराहरुलाई फिल्डस्थिति कार्यालयहरुमा गई व्यवहारमा लागू गर्न निर्देशन दिए ।
समापन समारोहमा बैंकका उपमहाप्रबन्धकहरुले सहभागीहरुलाई बैंकमा कुशलतापुर्वक काम गर्न प्रेरित गरेका थिए । कृषि विकास बैंक लि.का सद्भावना दूत तथा चर्चित हास्य कलाकार जितु नेपालले सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेको उक्त समापन कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लि. केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरका वरिष्ठ शाखा प्रमुखद्वय राजु कार्की तथा शालिग्राम ढकालले गरेका थिए ।