काठमाडौं । खड्गी इन्स्टिच्यूट अफ इन्डोयूरोलोजीले ३१ लाख बराबरको उपचार निशुल्क गरेको छ ।
संस्थाले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।
पौष १४,१५ र १६ गते तीन दिनसम्म रहेको सो शिविरबाट ३१ जना विपन्न वर्गका बिरामीले निशुल्क शल्यक्रिया सेवा पाएका हुन् ।
स्थापना कालदेखी नै विपन्न बिरामीहरुको निशुल्क उपचार गरिरहेको यस संस्थाले हरेक दिन ४ जना विपन्न बिरामीको नि:शुल्क उपचार गरिरहेको छ ।
शिविरमा मृगौला पत्थरी भएका २५ जना बिरामीर ६ जना प्रोस्टेट ग्रन्थी सम्बन्धी समस्या भएका बिरामीको शल्यक्रिया गरिएको छ । यो शिविरबाट सेवा लिनेमा २५ वर्षदेखी ८१ सम्मका बिरामी रहेका छन् ।
शिविरमा बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत नि:शुल्क गरिएको गरिएको थियो । पत्थरी शल्यक्रियाका लागि मिनी पीसिएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरिएको थियो।