काठमाडौं । विराटनगरको कोशी अस्पताल अगाडि निर्माण गरिएका संरचना विराटनगर महानगरपालिकाले हटाएको छ । नक्सा पास नगरी अस्पतालले बनाएका अनाधिकृत संरचना महानगरपालिकाले डोजर प्रयोग गरेर हटाएको हो।
अस्पतालको संरचनामा पसल सञ्चालन भइरहेका थिए। ती पसलले अस्पताल पसललाई पछिल्लो समय भाडा बुझाएको थिएनन् । अस्पताल विकास समितिको आग्रह विराटनगर महानगरपालिकाले नक्सा पास विना निर्माण भइ सञ्चालनमा रहेका संरचना डोजर प्रयोग गरेर हटाएको हो।
महानगरले पसल सञ्चालन भएका सटर हटाएपछि अस्पताल अगाडि हुने ट्राफिक जाम कम हुने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए।नक्सा पास गर्नका लागि आग्रह गर्दा अटेर गरेपछि संरचनामा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । कोशी अस्पतालले सटरको बहाल करसमेत बुझाएको थिएन।
महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ । भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए।