हेटौंडा । पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधन ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन सकेको छैन।
स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए।
रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए। उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए। ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।