काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौं उपत्यकाका ‘हब’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौं उपत्यकाका हब अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए ।
उनले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । हिजो ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको थियो ।
विमानमा रहेको ७२ जनामध्ये चार जनाको अवस्था अज्ञात छ । बाँकी ६८ जनाको शव हिजै फेला परिसकेको छ ।