काठमाडौं । ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा रहेका माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन अस्पताल पुगेका छन् । उपराष्ट्रपति पुन आज बिहानै अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।
भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिकरुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए ।जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उनी पुस ३० गते ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए ।
रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनलाई गत शनिबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । पुनलाई सोही दिन सुमेरु अस्पताल भर्ना गरिएको थियो । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए।