काठमाडौँ । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ ।
सोमबार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले सुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन्।
उनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने उनले जिकिर गरे।आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उनको भनाइ छ।
ललितपुर महानगरपालिकाले १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरूलाई सम्मान तथा प्रोत्साहन समेत गरेको थियो । स्वयंसेवकहरूलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड-१९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरे।
निरन्तर रूपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरूको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गरे।
महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेवकहरू भएको बताए। उनले स्वयंसेवकहरूले गरेको प्रभावकारी कामहरूका कारण नै आफूलाई मत दिएर जिताएको उनको भनाइ छ।
स्वयंसेविकाहरूको कामका कारण नै स्थानीय तहहरू मध्ये ललितपुर महानगरपालिका उत्कृष्ट हुन पुगेको उनले बताए। आगामी दिनमा पनि सेवा र त्यागको भावना राख्दै काग गर्न उनले आग्रह गरे।