विराटनगर — विश्व मुटु दिवसको अवसरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल र रोटरी क्लब अफ विराटनगरको सहकार्यमा विशेष सिपिआर (कार्डियोपल्मोनरी रिससिटेसन) तालिम सम्पन्न भएको छ।
विश्व मुटु दिवसअन्तर्गत सञ्चालित साताव्यापी कार्यक्रमको एक हिस्साका रूपमा आयोजित तालिममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। आकस्मिक हृदयघात तथा अन्य आपत्कालीन स्वास्थ्य अवस्थाका बेला तत्काल प्राथमिक उपचार प्रदान गरी जीवन बचाउन सिपिआर महत्वपूर्ण मानिन्छ।
तालिममा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका विशेषज्ञ एनेस्थेसियोलोजिष्ट डा. विकास अधिकारी, म्याट्रोन कुन्जा श्रेष्ठ तथा अस्पतालका विभिन्न नर्सिङ इन्चार्जहरूले सहजीकरण गरेका थिए। सहभागीहरूलाई कृत्रिम श्वासप्रश्वास, सिपिआर गर्ने विधि तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रारम्भिक प्राथमिक उपचारका विषयमा व्यावहारिक र प्राविधिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर, नेपाल स्काउट तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। आपत्कालीन स्वास्थ्य सेवासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिमले विराटनगर क्षेत्रमा जीवनरक्षक सीपको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
अचानक हुने हृदयघात वा अन्य स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय टोली पुग्नुअघि नै सही ढंगले प्राथमिक उपचार गर्न सके जीवन बचाउने सम्भावना बढ्ने भएकाले सर्वसाधारणलाई यस्ता सीप सिकाउन आवश्यक रहेको आयोजकले बताएका छन्।
न्यूरो अस्पताल र रोटरी क्लबको सहकार्यमा आयोजित यस कार्यक्रमले नागरिकलाई प्राथमिक उपचार तथा जीवनरक्षक सीपमा आत्मनिर्भर र आत्मविश्वासी बनाउन सकारात्मक भूमिका खेलेको जनाइएको छ।