काठमाडौँ । सरकारले हालको ९८ दिनको सुत्केरी बिदा बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ।
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधनका लागि प्रस्तावित विधेयकमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ। यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव छ।
स्वास्थ्य क्षेत्रका विज्ञका अनुसार छ महिनाको बिदाले आमालाई प्रसूतिपछि पर्याप्त आराम गर्न, शिशुको स्याहार गर्न र कम्तीमा छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुनेछ। नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ अनुसार छ महिनाभन्दा कम उमेरका १० मध्ये सात शिशुले मात्र पूर्ण स्तनपान पाउने गरेका छन्।
स्वास्थ्य विज्ञहरूले प्रस्तावित व्यवस्था आमा र नवजात शिशुको स्वास्थ्यका लागि सकारात्मक कदम भएको बताएका छन्।