यी क्षेत्रहरु खुकुलो बनाउँदै उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा
काठमाडौं- उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञा थप एक साता लम्बिएको छ ।
कोरोना भाइरसको जोखिम नघटेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप एक हप्ता बढेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
उनले भने थप गरिएको निषेधाज्ञामा केही खुकुलो बनाउँदै तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन होम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।
त्यस्तै प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । भने अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको उनले बताए ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गरिएको छ ।